माओवादीले दिएको छुट्टै प्रस्ताव

कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्ताव अस्वीकार गर्दै माओवादीले छुट्टै प्रस्ताव तयार पारेको छ । त्यसलाई उसले संशोधन प्रस्ताव भनेको छ । अब बस्ने तीन दलको बैठकमा उसले उक्त प्रस्ताव पेस गर्ने भएको छ ।

दुई दलले तयार पारेको प्रस्तावमा असहमति जनाउँदै उसले तयार पारेको संशोधन प्रस्तावमा राष्ट्रपतिको कदमका कारण राजनीतिक गतिरोध उत्पन्न भएको छ । ‘प्रस्तावलाई अब बस्ने तीन दलको बैठकमा पेस गर्छौं,’ स्थायी समिति सदस्य देव गुरुङले कान्तिपुरसँग भने, ‘राष्ट्रपतिको कदम त्यसप्रतिको हाम्रो आन्दोलन पृष्ठभूमिसहित नागरिक सर्वोच्चताको विषय प्रस्तावमा समेटिएको छ ।’ माओवादीले भाषा मिलाएर भए पनि राष्ट्रपति कदमलाई प्रस्तावमा उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ ।’मुख्य हामीले उठाएको विषयवस्तुको उल्लेख हुनुपर्‍यो,’ उनले भने, ‘राष्ट्रपति कदमलाई सम्बोधन गरी परिमार्जन गरेर लानुपर्छ भनेका छांै, भाषाशैली त छलफलबाट मिलाउन सकिन्छ ।’

तत्कालीन प्रधानसेनापतिलाई पदमुक्त गर्ने निर्णय सही भएको जिकिर गर्दै उसले प्रस्तावमा संवैधानिक राष्ट्रपतिको कदम ‘असंवैधानिक’ भएको पुष्टि गर्न खोजेको छ । उसको प्रस्तावमा दुई दलले तयार पारेको पहिलो बुँदालाई बढी संशोधन गरेको छ । नागरिक सर्वोच्चताको विषय राष्ट्रपति कदमका कारण उत्पन्न भएको जिकिर संशोधन प्रस्तावमा गरेको छ । अन्य दुई दलले भने तत्कालीन माओवादी नेतृत्वको सरकार ‘असंवैधानिक’ भएकाले राजनीतिक गतिरोध उत्पन्न भएको दाबी गरेका छन् ।

 यही साता भएको प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संशोधन प्रस्ताव तयार पार्ने बताएका थिए । यसैबीच मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा दाहालले कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा अपूर्ण भएको बताए । ‘छलफलका लागि माओवादीले छुट्टै तयार पारेको प्रस्तावमा आगामी बैठकमा छलफल हुनेछ,’ उनले भने । उनले नागरिक सर्वोच्चता र माओवादी नेतृत्वको राष्ट्रिय सरकार गठन नभए सहमति हुन नसक्ने उल्लेख गरे ।

 आफ्ना मुद्दालाई प्याकेजमै समाधान गर्नुपर्नेमा जोड दिए । दुई दलले उक्त विषयमा छुट्टाछुट्टै समाधान निकाल्ने पक्षमा रहेकाले सहमतिमा ढिलाइ भएको उनले बताए । ‘नागरिक सर्वोच्चता कायम नभए सहमति हुँदैन ।’ उनले भने, ‘सहमतिका लागि माओवादी नेतृत्वको राष्ट्रिय सरकार गठन हुनुपर्छ ।’ उनले माओवादीलाई पाखा लगाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्ने बुझेपछि पहिलेको तुलनामा दलहरू केही लचिलो भएको आफूले महसुस गरेको बताए ।

कांग्रेस र एमालेको चियापान कार्यक्रममा शीर्षस्थ नेताहरूबीच भएको छलफलले सहमतिको नजिक पुर्‍याएको उनको भनाइ थियो । माओवादीले लचकता अपनाएको उल्लेख गर्दै दलहरू सहमतिमा नआए तिहार पछाडि सशक्त आन्दोलन गर्ने चेतावनी दिए । ‘तिहारअगाडि जनतासँग सल्लाहको आन्दोलन गरिएको छ,’ उनले भने, ‘अझ सहमति नभए तिहार पछाडि सशक्त रूपमा उत्रन्छौं ।’

Source: Ekatipur.com

Add to: Facebook | Twitter

Leave a Reply